‘परिचय
अगरउड’ छिटो हुर्कने र बहुगुणले भरिपूर्ण वनस्पति हो । थेमेलिसिया परिवारमा पर्ने यो रूखको वैज्ञानिक नाम एक्युलारिया मालासेन्सिस हो । यसको प्रकृति सदावहार किसिमको हुन्छ, जुन २० देखि ७० फिटसम्म अग्लो हुन्छ । यसको प्राकृतिक भूमि दक्षिण–पूर्वी एसियाका देश भारत, थाइल्यान्ड, मलेसिया, म्यानमार, जापान र कम्बोडिया आदि हुन् । अगरउड समुद्र सतहदेखि १५०० मिटरसम्मको उष्ण र समशीतोष्ण क्षेत्रका मध्यपहाडी क्षेत्र, तराई, भित्री मधेस तथा भावर प्रदेशका जुनसुकै जमिनमा पनि खेती गर्न सकिन्छ ।
यो प्रशस्त पानी पर्ने क्षेत्र अथवा १८०० देखि ३५०० मिमि वर्षात् हुने स्थानमा उपयुक्त तवरले हुर्केको पाइएको छ र नेपालको हावापानीमा पनि राम्रोसँग हुर्कन सक्छ । अगरउडका करिब १५ वटा प्रजाति भए पनि हाल नेपालमा भारतको आसाम क्षेत्रमा पाइने मालाकान्सिस प्रजातिका बिरुवा केही जिल्लामा लगाउन सुरु गरिएको छ । एक्युलारिया प्रजातिका रूखमा विशेष किसिमको ढुसीको सङ्क्रमण भएपछि मात्र एककिसिमको खोटो वा रेजिन उत्पन्न हुन सुरु गर्छ ।
यही रेजिन रूखभित्र विभिन्न आकारमा जमेर अगरउड बन्छ । यही उड नै संसारभर सर्वाधिक माग भएको बहुमूल्य बास्नादार काठ हो । यो काठ बास्नादार तेल, धुप, अत्तर र औषधि बनाउने कच्चा पदार्थका रूपमा प्रयोग भएको पाइन्छ ।
महत्व
अगरउडबाट आउने बास्ना अति सुगन्धित र विशिष्ट किसिमको हुन्छ । जसबाट सौन्दर्य प्रशाधन, सौखिन र औषधिजन्य वस्तु उत्पादन गरिन्छ । यसमा ७० भन्दा धेरै किसिमका रसायन हुनेहुँदा यसको प्रयोग गरी बनाइएका औषधि कलेजो, मिर्गौला, कर्करोग ९क्यान्सर०, दम, क्षयरोग, मानसिक तनाव, बाथ, अपच, अरुचि, शरीर दुख्ने र रिङ्गटा लाग्नेजस्ता बिरामीको उपचारमा प्रयोग गरिन्छ ।अति सुगन्धित र विशिष्ट किसिमको बास्नाका कारणले नैराश्य, हतोत्साह र कुण्ठाले ग्रस्त मानिस पनि चङ्गा, उत्साही, उमङ्गित र प्रफुल्लित हुन पुग्छन् । संसारका धनी मानिस घरमा विशिष्ट पाहुनाको स्वागत, चाडबाड र पूजाआजामा सुन वा चाँदीले बनेका र त्यसमा हीरा, मोती र मूल्यवान रत्नजडित धुपौरोमा अगरउडको धुप बाल्ने गर्छन् । यसका पारखीले यसबाट बनेको तेल, साबुन, मन्जन, डिटरजेन्ट पाउडर, क्रिम, चक्लेट, कन्फेक्सनरी, चिया, चुरोट र रक्सीमा समेत प्रयोग गर्छन् । यसको सेवनले शरीरमा शक्ति, स्फुर्ति बढ्ने, रक्तसञ्चार, श्वासप्रश्वास र पाचन प्रणाली पनि राम्रो राख्ने हुन्छ । अगर निकालेर बाँकी रहेको काठबाट अगरबत्ती तथा माला बनाएर लगाउने चलन पनि छ । यसको काठमा काष्ठशिल्प गरेर सजावट गर्ने पनि गरिन्छ ।
खेती प्रविधि
नर्सरीमा तयार गरिएका सात महिना पुगेका बिरुवालाई करिब १२ फिट दूरीमा वैशाख, जेठमा डेढ फिट गहिरो र त्यति नै चौडा खाल्डो खनेर राम्ररी पाकेको कम्पोस्ट मल राखेर असारमा रोप्नुपर्छ । आठदेखि १० वर्षको भएपछि रूखलाई विभिन्न तरिका जस्तै काण्डमा काँटी ठोक्ने, बन्चरोले हान्ने, बाँसका चिर्पट गाडिदिने, रूखको फेदमा आगो बालिदिने, यो पुरानो तरिका हो ।नयाँ र वैज्ञानिक तरिकामा रूखलाई ‘ड्रिलविट’बाट प्वाल पारेर त्यो प्वालमा पाइपद्वारा कृत्रिम ढुसी वा केमिकल “कल्भिेटेड अगरउड कीट” नामको विशेष प्रकारको औषधि रूखभित्र पठाइन्छ । जब त्यसभित्र सङ्क्रमण सुरु हुन्छ– अगर बन्ने प्रक्रियाको थालनी हुन्छ ।यसरी पठाइएको ढुसी काण्ड र हाँगासम्म फैलिएर छ महिनादेखि दुई वर्षसम्ममा अगर बनाउने काम गर्छ । यस प्रक्रियामा रूखहरू मर्ने मात्रा कम हुनका साथै प्राकृतिक रूपमा बन्ने समयभन्दा दस गुणा छिटो र उच्च गुणस्तरको अगरउड बन्छ ।आधुनिक प्रविधिको प्रयोग गर्दा बिरुवा रोपेको सात÷आठ वर्षसम्ममा एक रूखबाट दुईदेखि १० केजीसम्म अगरउड उत्पादन गर्न सकिन्छ । बिरुवा रोपेपछि सामान्य गोडमेल गरेमात्र पुग्छ, धेरै लगानी गर्नुपर्दैन । नेपालमा अगरउड खेती गर्न एकदम राम्रो वातावरण छ । यस्तो बहुगुणी मूल्यवान वनस्पतिको खेती वा उत्पादन गरेर राम्रो आमदानी लिन सकिने छ । यसको विरुवा विभिन्न नर्सरीमा पाइन्छ ।
बजार
अगरउडको मुख्य व्यापार सिङ्गापुर, जापान, ताइवान, कोरिया, अरब देशहरू, अमेरिका, चीन, फ्रान्स, थाइल्यान्ड र मलेसियामा हुने गरेको छ ।
त्यसैगरी भारत र चीनलगायतका दक्षिण–पूर्वी एसियाका देशबाट यसको व्यापार हुने गरेको पाइन्छ । अगरउडको रङ्ग, आकार, बाक्लो, पातलो, प्रकार र यसमा हुने तेल र बास्ना, सुगन्धको आधारमा यसको श्रेणी, गुणस्तर र मूल्य निर्धारण गरिन्छ, जुन प्रतिकेजी लाखौँ रुपियाँसम्म पर्ने बताइन्छ ।